रारा जाने क्रममा गाडी दुर्घटना, तीन जनाको मृत्यु, दुई घाइते
मुगु – मुगुमा रारा ताल घुम्न आएका पर्यटक सवार गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा काठमाडौं कलंकीका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापा रहेका छन् । दुर्घटनामा ललितपुर महानगरपालिका–१५ का ५८ वर्षीय चालक कञ्चन थापा र ५४ वर्षीया अञ्जु थापा घाइते भएका छन् । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाइलक्स गाडी छायानाथ रारा नगरपालिका–७ टोप्लास्थित ताल्चा–रारा सडकखण्डमा अनियन्त्रित भई करिब चार सय मिटर तल खसेको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
Facebook Comments Box

