सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै
डडेल्धुरा, १६ भदौः सुदूरपश्चिमको मौलिक एवं सांस्कृतिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु भएको छ । भाद्र शुक्लपक्ष पञ्चमीका दिन मनाइने बिरुडा पञ्चमीसँगै गौरा पर्वको सुरुआत भएको हो । गौराको पहिलो दिन आज व्रतालु महिलाले घरमा पाँच प्रकारका अन्न तथा गेडागुडी भिजाएर ‘बिरुडा’ राख्ने चलन छ । मास, कलौँ, गहत, गहुँ र गुरुस मिसाएर बनाइने बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ । गौरादेवीको पूजाआजामा समेत बिरुडाको प्रयोग गरिन्छ ।
परम्पराअनुसार तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सजाइन्छ । त्यसपछि उक्त भाँडामा पञ्च अन्न तथा गेडागुडी भिजाएर बिरुडा तयार गरिन्छ । बिरुडा भिजाउने क्रममा महिलाले डोटेली भाषामा सगुन तथा बिरुडा भिजाउने फाग गाउने परम्परा छ ।
आलिताल, डडेल्धुराका ७८ वर्षीय खगेस्वरी भट्टका अनुसार पुत्रदा एकादशीको व्रतपछि भाद्र महिनाको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रूपमा सुरु हुन्छ । उहाँका अनुसार कतिपय परिवारमा गौराको तयारीका क्रममा एक महिनाअघिदेखि नै शुद्ध शाकाहार र ब्रह्मचर्य पालना गर्ने चलनसमेत छ ।
संस्कृतिका जानकार मुरलीधर अवस्थीका अनुसार बिरुडा भिजाउने क्रममा गाइने फागमा गौरा र महादेवबीचको संवाद तथा बिरुडाका लागि आवश्यक अन्न तथा गेडागुडी खोजी गर्ने प्रसङ्ग समेटिएको हुन्छ । उहाँका अनुसार गौरा पर्व महिलाले दुबधागो धारण गर्ने भएकाले पुरुषको व्रतबन्धसँग समेत तुलना गर्ने गरिन्छ ।
बिरुडा पञ्चमीका दिन भिजाइएको बिरुडा षष्ठीका दिन पखाल्ने परम्परा छ । सप्तमी र अष्टमीलाई भने गौराका विशेष दिनका रूपमा मनाइन्छ । सप्तमीका दिन धान खेतमा उम्रिएको साउँबाट गौराको प्रतिमा बनाइन्छ । उक्त प्रतिमालाई विधिपूर्वक ‘गौराघर’मा भित्र्याउने चलन रहेको व्रतालु सरस्वती अवस्थीले बताउनुभयो । उहाँका अनुसार गौरा पर्वमा महिलाले दुबधागोलाई यज्ञोपवीतका रूपमा धारण गर्ने गर्छन् ।
“गौराको पूजा अर्चनाले श्रीमान् तथा घरपरिवारका सदस्य निरोगी र दीर्घायु हुने तथा परिवारमा सुख, शान्ति र समृद्धि कायम हुने विश्वास छ”, उहाँले भन्नुभयो । अष्टमी अर्थात् गौराष्टमीका दिन गौरा देवीको पूजाआजा गरी मङ्गलगानका साथ गौरा नचाउने गरिन्छ । गौरालाई गौराघरको आँगनमा राखेर अठवाली गीत, चैत, धमारी तथा राजा–महाराजाका वीरगाथासहितका गीत गाउने र नाच्ने परम्परा छ । यही अवसरमा सुदूरपश्चिमका विभिन्न स्थानमा देउडा खेल्ने क्रमसमेत सुरु हुन्छ ।
पर्वतराज हिमालय र मेनकाकी पुत्री तथा भगवान् शिवकी अर्धाङ्गिनी पार्वतीलाई शक्तिस्वरूपा गौरीका रूपमा पूजाअर्चना गर्ने परम्पराबाट गौरा पर्वको सुरुआत भएको धार्मिक तथा सांस्कृतिक मान्यता छ । स्थानीय लोकरीति र परम्पराअनुसार शिव–गौरीको पूजा गरिने भएकाले यो पर्व सुदूरपश्चिमको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा स्थापित छ ।
अगस्ति ताराको उदयका आधारमा गौरा पर्व शुक्ल वा कृष्ण पक्षमा पर्ने गर्छ । शुक्ल पक्षमा परेको गौरालाई ‘उज्याली गौरा’ र कृष्ण पक्षमा परेको गौरालाई ‘अन्यारी गौरा’ भनिन्छ । दुवै प्रकारका गौरालाई पवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्त्व दिने परम्परा रहेको छ । गौरा पर्वका अवसरमा सुदूरपश्चिमका विभिन्न स्थानमा विशेष कार्यक्रम आयोजना गरिएका छन् । देउडा, डुस्को, धमारीलगायत स्थानीय लोकगीत, नृत्य तथा सांस्कृतिक गतिविधिले यस अवधिमा गाउँदेखि सहरसम्मको वातावरण उल्लासमय बन्ने गरेको छ ।

