डोल्पा कारागारबाट भागेका आठमध्ये छ कैदीबन्दी पक्राउ
कर्णाली । जिल्ला कारागार डोल्पाबाट फरार भएका आठ जना कैदीबन्दीमध्ये छ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार थप दुई जना पक्राउ परेसँगै पक्राउ पर्नेको सङ्ख्या छ पुगेको हो ।
पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ का हरिबहादुर बुढा र जाजरकोटका यज्ञ विक रहेका छन् । उनीहरूलाई रङगाउँभन्दा माथिको जङ्गलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । दुवै जना जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन् ।
यसअघि कात्तिक १८ गते कालीप्रसाद रोकाय र जाजरकोटका कपिल परियार तथा कात्तिक १७ गते रुकुमपश्चिमका रामबहादुर विक र सल्यानका रेशम राना पक्राउ परेका थिए ।
कात्तिक १४ गते कारागारबाट सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएका थिए । फरारमध्ये छ जना पक्राउ परेका छन् भने बाँकी दुई जनाको खोजी भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

