तनहुँ जलविद्युत् आयोजनाको विद्युत्गृह निर्माण ८० प्रतिशत सम्पन्न

तनहुँ – तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहसहितका प्रमुख संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ। आयोजनाको प्याकेज–२ अन्तर्गत विद्युत्गृह, सुरुङ तथा आवश्यक उपकरण जडानको काम करिब ८० प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ। उक्त प्याकेजको निर्माण चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनले गरिरहेको छ।

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार भूमिगत संरचना निर्माणका लागि आवश्यक उत्खननको काम पूरा भइसकेको छ भने अधिकांश संरचनाको सिभिल निर्माण सम्पन्न भएको छ। भूमिगत विद्युत्गृह, टेलरेस सुरुङ, केबल सुरुङ, सर्ज साफ्ट, इन्टेक, ड्राफ्ट ट्युब सुरुङ तथा पेनस्टकमा कङ्क्रिटिङको काम पनि अन्तिम चरणमा पुगेको छ। मुख्य सुरुङको कङ्क्रिट लाइनिङ गर्ने कामसमेत अन्तिम चरणमा रहेको उहाँले जानकारी दिनुभयो।

यसैगरी, भूमिगत विद्युत्गृहमा विद्युत् उत्पादनका लागि आवश्यक जेनेरेटर, टर्बाइन, ट्रान्सफर्मर र सीसीटीभीलगायत विद्युतीय तथा यान्त्रिक उपकरण जडान र परीक्षण भइरहेको छ। आयोजनाअन्तर्गत वातावरणीय बहावका लागि आवश्यक संरचना तथा विद्युत्गृह र बाँध सञ्चालन भवन निर्माणको काम पनि जारी रहेको छ। प्याकेज–२ अन्तर्गतका संरचना निर्माण, उपकरण जडान र परीक्षण सम्पन्न भएपछि आयोजनाको विद्युत् उत्पादन प्रणाली सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार हुने जनाइएको छ।

Facebook Comments Box