एनपीएलमा आज लुम्बिनी–जनकपुर र काठमाण्डु–विराटनगरबीच प्रतिस्पर्धा हुँदै
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज बिहीबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।
त्यस्तै, दोस्रो खेलमा काठमाण्डु गोर्खाज र विराटनगर किङ्ग्स भिड्नेछन्। उक्त खेल साँझ ५ बजे सुरु हुनेछ। आजका दुवै खेल चारवटै टोलीका लागि महत्वपूर्ण छन्। लुम्बिनी जित निकाल्दै आफ्नो अपराजित लय कायम राख्न चाहन्छ भने जनकपुर अघिल्लो खेलको हार बिर्सेर पुनरागमन गर्ने लक्ष्यमा हुनेछ।
प्रतियोगितामा तीन खेल खेलेको लुम्बिनीले दुई जित र एक खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको छ। पाँच अंकसहित लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा छ। पछिल्लो खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई आठ विकेटले पराजित गरेको थियो। यता, चार खेल खेलेको जनकपुरले दुई जित र दुई हार व्यहोरेको छ। चार अंकसहित टोली चौथो स्थानमा छ। जनकपुर पछिल्लो खेलमा विराटनगर किङ्ग्ससँग दुई रनले पराजित भएको थियो। त्यसैले लुम्बिनीविरुद्धको खेल जनकपुरका लागि पुनरागमनको अवसर हुनेछ।
लुम्बिनी र जनकपुरबीच यसअघिका दुई संस्करणमा भएका दुवै भेटमा एक–एक जितको नतिजा आएको छ। पहिलो संस्करणमा जनकपुरले एक रनले जितेको थियो भने दोस्रो संस्करणमा लुम्बिनीले चार विकेटले बाजी मारेको थियो। यस्तै, आजको दोस्रो खेलमा काठमाण्डु गोर्खाज र विराटनगर किङ्ग्स आमनेसामने हुनेछन्।
दुई खेल खेलेको काठमाण्डुले एक जित र एक हारसहित दुई अंक जोडेको छ। टोली अंकतालिकाको सातौँ स्थानमा छ। काठमाण्डुले आफ्नो पछिल्लो खेलमा कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको थियो। अर्कोतर्फ, चार खेल खेलेको विराटनगरले दुई जित र दुई हारसहित चार अंक जोडेको छ। अंकतालिकाको दोस्रो स्थानमा रहेको विराटनगर पछिल्ला दुई खेलमा लगातार विजयी भएको छ। टोलीले सुदूरपश्चिम रोयल्सलाई ३५ रन र जनकपुर बोल्ट्सलाई दुई रनले पराजित गरेको थियो।
काठमाण्डु र विराटनगरबीच पनि अघिल्ला दुई संस्करणमा भएका खेलमा दुवैले एक–एक जित निकालेका छन्। पहिलो संस्करणमा काठमाण्डु एक विकेटले विजयी भएको थियो भने दोस्रो संस्करणमा विराटनगरले पाँच विकेटको जित निकालेको थियो। यससँगै आज हुने दुवै खेलमा जित निकाल्ने टोलीले अंकतालिकामा आफ्नो स्थिति सुधार गर्नुका साथै एकअर्काविरुद्धको हेड टु हेड नतिजामा पनि अग्रता बनाउने अवसर पाउनेछन्।

