जलजलाका पहिरो प्रभावित बस्तीको भौगर्भिक अध्ययन, ३१६ घरमा क्षति

म्याग्दी । मनसुनजन्य विपद् प्रभावित पर्वतको जलजला गाउँपालिकाका पहिरोग्रस्त तथा जोखिमयुक्त बस्तीको भौगर्भिक अध्ययन सुरु गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट आएको भूगर्भविद्सहितको टोलीले फर्से, किराखोर, खानीगाउँ र ताङवाङ क्षेत्रको अध्ययन गरेको छ। टोलीले क्षति तथा जोखिमको अवस्था पहिचान गर्न ढुङ्गा, माटोको नमुना र ड्रोनमार्फत तस्बिर सङ्कलन गरेको छ।

गत असोजमा कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण जलजलामा ३१६ घरमा क्षति पुगेको छ। तीमध्ये १२६ घर पूर्ण र ५० घर आंशिक क्षतिग्रस्त भएका छन् भने १४० घर जोखिममा रहेका छन्। सबैभन्दा बढी फर्से क्षेत्रमा ७५ घर बाढीले बगाएको छ। यस्तै, ताङवाङ र खानीगाउँका ३५ परिवार विस्थापित भएका छन्। भौगर्भिक अध्ययन प्रतिवेदनको सुझावका आधारमा प्रभावित बस्तीको पुनर्निर्माण तथा पुनःस्थापनाको काम अघि बढाइने गाउँपालिकाले जनाएको छ।

Facebook Comments Box