आज सहिद दिवस, देशभर विविध कार्यक्रमका साथ मनाइँदै

काठमाडौँ, १६ माघ – देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै आज देशभर सहिद दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । नेपालमा प्रजातन्त्र स्थापनाका लागि जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीसहित विभिन्न कालखण्डमा स्वतन्त्रता, प्रजातन्त्र र लोकतन्त्रका लागि बलिदान दिने सम्पूर्ण सहिदको स्मरणमा यो दिवस मनाउने गरिन्छ ।

राणा शासनविरुद्ध आवाज उठाएको आरोपमा तत्कालीन शासकले ती सहिदलाई मृत्युदण्ड दिएको थियो । सहिदहरूको त्याग, बलिदान र प्रेरणाबाट नै जहानियाँ राणा शासनको अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापना सम्भव भएको इतिहासकारहरूको भनाइ छ ।

प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना तथा पुनःस्थापनाका साथै विभिन्न आन्दोलनका क्रममा स्वतन्त्रता र अधिकारका लागि जीवन आहुति दिने सहिदको सम्झनामा मनाइने गरिन्छ । यस अवसरमा देशका विभिन्न स्थानमा श्रद्धाञ्जली सभा, प्रभातफेरी, गोष्ठी तथा अन्य कार्यक्रम आयोजना गरिएका छन् ।

यसैबीच, यही माघ १० गतेदेखि १६ गतेसम्म सहिद सप्ताह घोषणा गरी विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउन सुरु गरिएको थियो ।

इतिहासअनुसार स्वतन्त्रताको माग गर्दै संघर्षरत रहेका सहिद शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा तथा माघ १५ गते गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएको थियो । सहिदहरूको त्याग र बलिदानलाई स्मरण गर्दै राष्ट्र निर्माणमा उनीहरूले देखाएको मार्गदर्शनलाई आत्मसात् गर्नुपर्ने सन्देशसहित आजको सहिद दिवस मनाइँदैछ ।

Facebook Comments Box