पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा, पश्चिम खण्डको प्रगति ८६ प्रतिशत

गण्डकी । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ। आयोजनाको पश्चिम खण्ड पोखरा–जामुनेको भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ। आयोजनाको पूर्वी खण्ड जामुने–मुग्लिनको निर्माण सम्पन्न भई निर्माण कम्पनीले सडक हस्तान्तरण गरिसकेको छ। उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नतिको काम सकिएसँगै त्रुटि सच्याउने अवधि सुरु भएको इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो।

यस अवधिपछि थप पाँच वर्षसम्म सडक मर्मतसम्भारको जिम्मेवारी पनि निर्माण कम्पनीकै रहनेछ। कुल ४१ दशमलव ४५ किलोमिटर लामो पूर्वी खण्डमा दमौली र डुम्रे बजार क्षेत्रमा करिब दुई किलोमिटर सडक छ लेनमा तथा अन्य क्षेत्रमा चार लेनमा विस्तार गरिएको छ। यस खण्डमा १७ वटा पक्की पुलसमेत निर्माण भएका छन्। मादी नदीको सिग्नेचर पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको छ।

यता, पश्चिम खण्डको निर्माण आगामी मङ्सिरभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजना प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार करिब पाँच किलोमिटर सर्भिस लेन कालोपत्र गर्न बाँकी छ। सडकमा रोड मार्किङ, ट्राफिक सङ्केत र सडक सुरक्षासम्बन्धी काम पनि भइरहेको छ।

कुल ३८ दशमलव ८८ किलोमिटर लामो पश्चिम खण्डमा १८ दशमलव ५ किलोमिटर सडक छ लेनमा र बाँकी चार लेनमा निर्माण गरिएको छ। यस खण्डमा रहेका १३ पुलमध्ये १२ वटा निर्माण सम्पन्न भएका छन्। पोखराको सेती नदीमाथिको सिग्नेचर पुल भने छुट्टै ठेक्कामार्फत निर्माणाधीन छ।

पोखरा–मुग्लिनको कुल ८१ किलोमिटर सडक एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नति भइरहेको हो। पूर्वी खण्ड निर्माणका लागि ६ अर्ब २१ करोड ३१ लाख र पश्चिम खण्डका लागि सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो।

सडक स्तरोन्नति भएपछि काठमाडौँ, चितवनलगायत स्थानबाट पोखरा आवतजावत सहज बन्दै गएको छ। निर्माणका क्रममा धुलो र हिलोको समस्या खेप्दै आएका यात्रुले अहिले विस्तार भएका चार तथा छ लेनका सडकमा यात्रा गर्न पाएका छन्। गण्डकी प्रदेशको प्रमुख सडकमार्गका रूपमा रहेको पोखरा–मुग्लिन सडक स्तरोन्नतिले यस क्षेत्रको आर्थिक तथा पर्यटकीय गतिविधि बढाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box