मौसम खुलेसँगै भोजपुरका किसानलाई धान भित्र्याउने चटारो
भोजपुर । निरन्तर वर्षापछि मौसममा सुधार आएसँगै भोजपुरका किसानलाई धानबाली भित्र्याउने चटारो परेको छ। बेमौसमी वर्षाका कारण रोकिएको धान काट्ने र थन्क्याउने काम मौसम खुलेपछि तीव्र बनेको हो। धान पाकेर खेत पहेँलपुर भएको समयमा वर्षा भएपछि प्रभावित बनेका किसान अहिले बिहानैदेखि खेतबारीमा व्यस्त हुन थालेका छन्।
किसानहरू धान काट्ने, मुठा बाँध्ने, सुकाउने र घरमा भण्डारण गर्ने काममा जुटेका छन्। कतिपय स्थानमा एकअर्काको खेतमा अर्मपर्म गरेर धान भित्र्याउने काम भइरहेको छ। भोजपुर नगरपालिका–५ का किसान बमबहादुर कार्कीले मौसम खुलेपछि धान थन्क्याउन सहज भएको बताउनुभएको छ। केही दिनअघिको वर्षाले काममा ढिलाइ भए पनि अहिले अर्मपर्म गरेर धान भित्र्याउने काम भइरहेको उहाँको भनाइ छ।
त्यस्तै, स्थानीय किसान नवराज फुयाँलका अनुसार किसानले अन्य काम छाडेर धान भण्डारणलाई प्राथमिकता दिएका छन्। वर्षाका कारण धानबालीमा क्षति पुगे पनि बाँकी रहेको उत्पादन जोगाउन सबै किसान लागिपरेका उहाँले बताउनुभयो। एकैपटक सबै किसान धान भित्र्याउन जुटेकाले गाउँघरमा खेताला पाउनसमेत मुस्किल भएको छ।
धान भोजपुरका किसानको प्रमुख खाद्यबाली हो। जिल्लाका नौवटै स्थानीय तहमा धानखेती हुँदै आएको छ। मौसममा सुधार भएपछि धान भित्र्याउन सहज भए पनि बेमौसमी वर्षाका कारण बालीमा क्षति पुगेपछि किसान भने चिन्तित बनेका छन्।

