एनपीएलमा आज विराटनगर–जनकपुर र लुम्बिनी–पोखराबीच प्रतिस्पर्धा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज पनि दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ। जारी प्रतियोगितामा तीन खेल खेलेको विराटनगरले एक खेलमा जित र दुई खेलमा हार बेहोरेको छ। विराटनगरले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो भने चितवन राइनोज तथा कर्णाली याक्ससँग पराजित भएको थियो।
यता, तीन खेल खेलेको जनकपुरले दुई खेलमा जित र एक खेलमा हार बेहोरेको छ। जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भए पनि त्यसपछि काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सलाई हराउन सफल भएको थियो। यस्तै, आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्।
दुई खेल खेलेको लुम्बिनीले एक खेलमा जित निकालेको छ भने वर्षाका कारण चितवन राइनोजसँगको दोस्रो खेल रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाँडेका थिए। यता, पोखरा एभेन्जर्सले भने खेलेका दुवै खेलमा हार बेहोरेको छ। पोखरा पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो। आज लुम्बिनीलाई हराउँदै प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यमा पोखरा रहेको छ।

