स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
स्याङ्जा – स्याङ्जाको वालिङ नगरपालिका–९ गाइँस्वारामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। वालिङ–हुवास भित्री सडकखण्डमा हुवासबाट वालिङतर्फ आउँदै गरेको ग १ त ५७६९ नम्बरको ट्याक्टर सोमबार सडकको बायाँ किनारमा पल्टिँदा दुर्घटना भएको हो।
दुर्घटनामा ट्याक्टरमा सवार वालिङ नगरपालिका–१० का ६१ वर्षीय नन्दलाल बुढामगर र पर्वत घर भई वालिङ–१० बस्दै आएका ४३ वर्षीय प्रेम रानामगरको मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभएको छ।
दुर्घटनामा ट्याक्टर चालक दाङको शान्तिनगर–१ का ३७ वर्षीय धनवीर पुनमगर तथा वालिङ–१० का २० वर्षीय सुलभ परियार र ४६ वर्षीय झकबहादुर थापा घाइते भएका छन्। उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

