काठमाडौँ आसपासका क्षेत्रमा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

विहीबार, ११ साउन – काठमाडौँका बुढानीलकण्ठ, जितपुर र आसपास क्षेत्रमा पछिल्लो दुई घण्टामा भारी वर्षा भएको छ । विष्णुमती नदीको गोङ्गबु क्षेत्रमा जलसतह सतर्कता तह नजिक पुगेको छ । विष्णुमती, इच्छुमती, धोबिखोला तटीय क्षेत्रमा खोलाको पानी किनारको सडक र बस्तीमा आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो बागमती गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले यस क्षेत्रमा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लाछिानेका अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको हो।

‘उपत्यकाको उत्तर–पश्चिमतिर अहिले वर्षा भइरहेको देखिन्छ’, उनले भने, ‘पूर्वतर्फ भने मौसम बदली मात्र छ, पानी परेको छैन।’ मौसम महाशाखाका अनुसार दिउँसो पनि देशभर मौसम सामान्य बदली हुने र पानी पर्ने सम्भावना छ। दिउँसो पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस क्रममा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। महाशाखाका अनुसार राति पनि देशभर मौसम आंशिकदेखि सामान्य बदली भई पहाड र तराईमा पानी पर्ने सम्भावना छ। राति देशका पहाडी भूभागका थोरै तथा तराई भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको हो।

कोशी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। यसकारण हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

Facebook Comments Box