बाढीपहिरो र निर्माणका कारण विभिन्न राजमार्ग प्रभावित, केही सडक एकतर्फी सञ्चालनमा
काठमाडौं । बाढी, पहिरो र निर्माण कार्यका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान ७ बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध रहेको र केहीमा एकतर्फी सवारी सञ्चालन भइरहेको जनाएको छ।
बागमती प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोकको बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। रोशी गाउँपालिकाको पिनथली र गिम्दिबेसीमा पहिरो खसेपछि अवरुद्ध बनेको सडक पहिरो पन्छाएर आंशिक रूपमा खुलाइएको हो। यस्तै, धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–९ भालुवाटारमा पुल निर्माण तथा सडक स्तरोन्नतिका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने प्रहरीले जनाएको छ।
गोरखाको आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोती–मान्बु सडकखण्डमा बाढीले पुलमा क्षति पुर्याएपछि यातायात पूर्ण रूपमा अवरुद्ध छ। यसैगरी, लुम्बिनी प्रदेशको अर्घाखाँचीस्थित सन्धिखर्क–गोरुसिङ्गे सडकखण्ड र कर्णाली प्रदेशको सुर्खेतस्थित कर्णाली राजमार्ग पनि पहिरोका कारण एकतर्फी रूपमा सञ्चालन भइरहेका छन्।
अर्घाखाँचीको नरपानी र सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेमा पहिरो खसेपछि ती सडकखण्ड प्रभावित भएका हुन्। प्रहरीले सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न तथा अवरुद्ध र जोखिमयुक्त सडकखण्डमा सावधानी अपनाउन यात्रु र सवारी चालकलाई आग्रह गरेको छ।

