धरानमा प्रहरीको हवाई फायरपछि २१० किलो गाँजासहित पाँच जना पक्राउ

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले करिब २१० किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ। सोमबार बिहान दुईवटा जिपमा गाँजा लोड भइरहेको अवस्थामा प्रहरीले दुई राउन्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा खटिएको टोलीले बा १ च ५०३८ र को १ च ८१८२ नम्बरका जिपबाट आठवटा पोकामा राखिएको करिब २१० किलो गाँजा बरामद गरेको छ। पक्राउ पर्नेमा सप्तरीका रामसागरकुमार यादव, राजेन्द्रप्रसाद मण्डल र राजकुमार शाह, भारतको बिहारका सन्तोष ठाकुर तथा सुनसरीका अमृत बिशुङ्खेल रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका रामसागर र राजकुमार दुवै जिपका चालक हुन्। बरामद गाँजासहित पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box