श्रमदानबाट मर्मतपछि पाउद्वार–खोप्रा पदमार्ग सञ्चालनमा
म्याग्दी । गत असोजको भीषण वर्षापछि पहिरोले अवरुद्ध बनेको म्याग्दीको पाउद्वार–खोप्रा पदमार्ग मर्मतपछि पुनः सञ्चालनमा आएको छ। अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका स्थानीयवासीले श्रमदान गरेर पाउद्वार–हिलडाँडा–लरेनी खण्डको पहिरो पन्छाउनुका साथै नयाँ बाटो निर्माण गरी पदमार्ग सञ्चालनमा ल्याएका हुन्।
पाउद्वार पर्यटन सहकारी संस्थाका सचिव हरि तिलिजा पुनका अनुसार दैनिक ५० जनाका दरले पाँच दिनसम्म श्रमदान गरेर पदमार्ग मर्मत गरिएको हो। स्थानीयवासीले पदमार्गसँगै पहिरोबाट क्षति पुगेका विद्युत् र खानेपानी आयोजना मर्मतका लागि पनि एक महिनादेखि श्रमदान अभियान सञ्चालन गरिरहेका छन्।
पदमार्ग सञ्चालनमा आएपछि पर्यटकसँगै स्थानीयवासीलाई घाँसदाउरा र पशुगोठसम्म आवतजावत गर्न सहज भएको छ। अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने तीन हजार ५६० मिटर उचाइको खोप्रा पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ। त्यहाँबाट सूर्योदय, हिमशृङ्खला, पहाडी भूगोल र पशुगोठको अवलोकन गर्न सकिन्छ।
खोप्रा सामुदायिक लजका अनुसार चक्रवात अर्नबका कारण केही दिन पर्यटक आगमन प्रभावित भए पनि अहिले पर्यटकको चहलपहल पुरानै लयमा फर्किन थालेको छ। पर्यटकहरू घोडेपानी, घान्द्रुक, बयली, ढाडखर्क र नारच्याङ हुँदै खोप्रा पुग्ने तथा चार हजार ६ सय मिटर उचाइमा रहेको खयरतालको भ्रमण गरी लरेनी र पाउद्वार हुँदै पोखरेबगर फर्किने गर्दछन्।
स्थानीय पर्यटन व्यवसायीका अनुसार पहिरोका कारण केही सडक अवरुद्ध भए पनि खोप्रालगायतका पर्यटकीय क्षेत्र सुरक्षित रहेकाले भ्रमण गर्न सकिनेछ। असोज–कात्तिक र चैत–वैशाखलाई यस क्षेत्रको मुख्य पर्यटकीय याम मानिन्छ।

