देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना
काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण हाल देशभर आंशिक रूपमा मौसम बदली भएको छ। दार्चुला, बझाङ र हुम्लाका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज सोमबार देशभर आंशिक बदली रहनेछ। देशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। यस्तै, लुम्बिनी प्रदेशको तराई क्षेत्रमा पनि एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
यसैबीच, बङ्गालको खाडीमा विकसित चक्रवात ‘मुरा’ का कारण नेपालको मौसममा उल्लेखनीय प्रभाव पर्ने सम्भावना नरहेको विभागले जनाएको छ। विभागका अनुसार आइतबार बिहान ११ बजेर ४५ मिनेटमा दक्षिणपश्चिम तथा मध्यपश्चिम बङ्गालको खाडीमा चक्रवाती आँधी ‘मुरा’ विकसित भएको हो।
यो प्रणाली सोमबारसम्म शक्तिशाली चक्रवाती आँधीमा परिणत हुने सम्भावना छ। पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढिरहेको चक्रवात कात्तिक १७ गते भारतको आन्ध्र प्रदेशको दक्षिणी तटीय क्षेत्रस्थित नेल्लौर र नरसापुरबीचबाट शक्तिशाली आँधीका रूपमा जमिनमा प्रवेश गर्ने अनुमान गरिएको छ।

