नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आजदेखि शुल्क तिर्नुपर्ने
काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आजदेखि टोल शुल्क तिर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाले सवारीसाधनको वर्ग र यात्राको दिशाअनुसार फरक–फरक शुल्क निर्धारण गरेको जनाएको छ ।
नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यस्तै, मिनी बस तथा मिनी टिपर र ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ ।
बस तथा सिंगल रियर एक्सल भएका ट्रकका लागि प्रवेशतर्फ २६० रुपैयाँ र बाहिरिने दिशामा २०० रुपैयाँ शुल्क तोकिएको छ । त्यसैगरी, मल्टी एक्सल ट्रक तथा भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ । सडक बोर्ड नेपालको कार्यकारी समितिको निर्णयअनुसार आजदेखि नै नयाँ शुल्क लागू भएको हो ।

