लागुऔषधसहित देशका विभिन्न स्थानबाट १३ जना पक्राउ
काठमाडौं । प्रहरीले लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न रहेको आरोपमा देशका विभिन्न स्थानबाट १३ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार शुक्रबार र शनिबार गरिएको नियमित गस्ती तथा चेकजाँचका क्रममा काठमाडौं, झापा, सुनसरी, पर्सा, लमजुङ, बर्दिया र कैलालीबाट उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरूको साथबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ, नियन्त्रित लागुऔषध, चिकित्सकको सिफारिसमा मात्र बिक्री गर्न पाइने औषधि, २० हजार २०० रुपैयाँ नगद र एउटा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ । काठमाडौंको चुच्चेपाटीबाट चार ग्राम २५० मिलिग्राम र जडीबुटीबाट छ ग्राम ७४० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन् ।
यस्तै, झापाको खयरबारीबाट एक ग्राम ९५ मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् । सुनसरीको लौकहीबाट दुई ग्राम १७० मिलिग्राम र बर्दियाको कर्णाली पुलबाट दुई ग्राम ७१० मिलिग्राम उक्त पदार्थसहित थप तीन जना पक्राउ परेका छन् ।पर्साको वीरगञ्जबाट डाइजेपाम, फेनारगन र बुप्रेनोर्फिन गरी ८४ एम्पुल नियन्त्रित लागुऔषधसहित एक जना पक्राउ परेका छन् । लमजुङको बेँसीसहरबाट पनि विभिन्न तीन प्रकारका लागुऔषध १०/१० एम्पुलसहित एक जना पक्राउ परेका छन् ।
यसैगरी, कैलालीको धनगढीबाट १२७ मिलिग्राम र भजनीबाट एक ग्राम ५० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

