मुस्ताङ भन्सारबाट साढे तीन महिनामै ११ अर्ब ४५ करोड राजस्व सङ्कलन

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामै ११ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्ष २०८३/८४ मा नौ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा कार्यालयले लक्ष्यभन्दा दुई अर्ब ४५ करोड ४७ लाख रुपैयाँ बढी राजस्व उठाएको हो ।

भन्सार अधिकृत अमिन्द्र सिंहका अनुसार साउनदेखि कात्तिक १३ गतेसम्म कोरलानाकाबाट २६ अर्ब एक करोड २३ लाख रुपैयाँ बराबरका मालवस्तु आयात भएका छन् । सोही अवधिमा नेपालबाट २८ करोड ६३ लाख रुपैयाँ बराबरका सामान चीनतर्फ निर्यात भएका छन् । यस अवधिमा चीनबाट आयात गरिएका विभिन्न कम्पनीका छ हजार पाँच सय एक वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भएको छ ।

दसैँअघि असोज २७ गतेसम्म आठ अर्ब ३२ करोड ८३ लाख रुपैयाँ राजस्व सङ्कलन भएकोमा दसैँपछिको अवधिमा थप तीन अर्ब १२ करोड ६४ लाख रुपैयाँ राजस्व उठेको भन्सार कार्यालयले जनाएको छ । दसैँअघि कोरलानाकाबाट १० अर्ब ४० करोड ६९ लाख रुपैयाँ बराबरका चिनियाँ सामान आयात भएका थिए । दसैँपछि थप छ अर्ब ७० करोड ५४ लाख रुपैयाँ बराबरका सामान नेपाल भित्रिएका छन् ।

यस्तै, दसैँअघि तीन हजार नौ सय २६ वटा विद्युतीय सवारीसाधन आयात भएकामा दसैँपछिको १५ दिनमा थप दुई हजार पाँच सय ७५ वटा सवारीसाधनको भन्सार जाँचपास भएको छ । रसुवागढी र तातोपानी नाका बन्द हुँदा कोरलानाकाबाट आयात–निर्यात कारोबार बढेको भन्सार अधिकृत सिंहले बताउनुभयो । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चीनबाट आउने सयौँ कन्टेनरका सामान कोरलानाकातर्फ मोडिएका छन् ।

कोरलानाकाबाट तयारी पोसाक, कस्मेटिक सामग्री, विद्युतीय उपकरण, औद्योगिक कच्चा पदार्थ, खाद्यान्न, फलफूल तथा विद्युतीय सवारीसाधन आयात हुँदै आएका छन् । सरकारले नेपाल–चीन उत्तरी कोरलानाका गत वर्ष भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याएको थियो । गत आर्थिक वर्षमा मुस्ताङ भन्सारले छ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

Facebook Comments Box