अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित

इलाम । अकबरे खुर्सानीको बोटमा रोगको प्रकोप देखिएर मर्न थालेपछि इलामका व्यावसायिक किसान चिन्तित बनेका छन् । मुख्य उत्पादन दिने समयमा बोट पहेँलिने, फल डढ्ने र कुहिने समस्या देखिएपछि किसानको लगानी जोखिममा परेको छ । माङसेबुङ गाउँपालिका–६ का किसान प्रदीप राईले लगाउनुभएको अधिकांश अकबरे खुर्सानीका बोट मर्न थालेका छन् । उहाँले दुई रोपनी क्षेत्रफलमा एक हजार आठ सय बोट लगाउनुभएको थियो ।

विगत दुई वर्षदेखि व्यावसायिक खेती गर्दै आउनुभएका राईले अघिल्लो वर्ष खुर्सानी बिक्रीबाट तीन लाख ५० हजार रुपैयाँ आम्दानी गर्नुभएको थियो । यस वर्ष उत्पादन बढाउने लक्ष्यसहित खेती विस्तार गरे पनि रोगको प्रकोपले लगानी नै डुब्ने अवस्था आएको उहाँले बताउनुभयो । अकबरे खुर्सानीमा फल लाग्न थालेपछि पात पहेँलिने, हाँगा सुक्ने, फलको आधा भाग डढ्ने र कालो भएर कुहिने समस्या देखिएको किसानको भनाइ छ ।

अन्य किसानले पनि यस्तै समस्या भोगिरहेका छन् । किसान जीवन राईका अनुसार फलमा डढुवा लाग्ने, कीरा पर्ने र बोट पहेँलिँदै सुक्ने समस्या बढेको छ । अर्की किसान कल्पना राईले रोग सङ्क्रमण सुरु भएको एक महिनामै बारीका खुर्सानीका बोट नष्ट भएको बताउनुभएको छ ।

इलाममा उत्पादित अकबरे खुर्सानी स्थानीय बजारका साथै झापाको दमकसम्म बिक्री हुने गरेको छ । व्यापारीले बगानबाटै प्रतिकिलो दुई सयदेखि दुई सय ५० रुपैयाँसम्ममा खरिद गर्दै आएका छन् । परम्परागत खाद्यान्न बालीको विकल्पका रूपमा राम्रो आम्दानी हुने नगदे बाली मानिएको अकबरे खुर्सानीको व्यावसायिक खेतीप्रति इलामका किसानको आकर्षण बढ्दै गएको छ । तर, उत्पादनको मुख्य समयमा रोगको प्रकोप फैलिएपछि किसानको वर्षभरिको मेहनत र लगानी खेर जाने चिन्ता बढेको छ ।

Facebook Comments Box