वर्षाका कारण काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडक अवरुद्ध

काठमाडौं । लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो बगेर सडकमा थुप्रिँदा तथा पहिरो खस्दा काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजे जारी गरेको सूचनाअनुसार काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र वडा नम्बर ८ गिम्दीबेँसीस्थित बीपी राजमार्ग अवरुद्ध भएको छ । खहरेखोलाबाट ढुङ्गामाटोसहितको लेदो बगेर सडकमा थुप्रिएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा बन्द भएको हो ।

यस्तै, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ लाकुरीडाँडास्थित मध्यपहाडी लोकमार्गमा माथिबाट लेदोसहितको पहिरो खस्दा करिब १५ मिटर सडक अवरुद्ध भएको छ । ललितपुरको सुन्दरीघाटस्थित बागमती खोला करिडोरमा जलसतह बढेपछि सडकमा आवागमन रोकिएको छ ।

यसैगरी, ललितपुरकै बागमती गाउँपालिका–३ पाङ्दुर र टार्कुचेमा पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण सडक अवरुद्ध भएपछि सम्बन्धित क्षेत्रमा यात्रा गर्ने सवारी चालक तथा यात्रुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Facebook Comments Box