कुलेखानी जलाशयमा पानीको सतह बढ्यो, तत्काल जोखिम नरहेको अधिकारीको भनाइ
मकवानपुर । जलाधार क्षेत्रमा भइरहेको वर्षाका कारण मकवानपुरको इन्द्रसरोवरस्थित कुलेखानी जलाशयमा पानीको सतह बढेको छ । कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रल्हाद राउतका अनुसार जलाशयमा पानीको सतह बढेर एक हजार ५२७ दशमलव ५९ मिटर पुगेको छ । यद्यपि, जलाशयमा पानीको सतह बढे पनि तत्काल जोखिमको अवस्था नरहेको उहाँले बताउनुभएको छ ।
जलविद्युत् उत्पादन भइरहेकाले जलाशयमा पानी सञ्चित हुने क्रम सन्तुलित रहेको र पछिल्लो वर्षाले पानीको सतह तीव्र रूपमा नबढेको केन्द्रले जनाएको छ । कुलेखानी जलाशयको अधिकतम भण्डारण क्षमता एक हजार ५३० मिटर हो । हालको जलसतह अधिकतम क्षमताभन्दा दुई दशमलव ४१ मिटर मात्र कम छ । जलाधार क्षेत्रमा थप भारी वर्षा भएमा जलाशयको सतह अझै बढ्न सक्ने भएकाले वर्षाको अवस्थालाई निरन्तर निगरानी गरिरहेको केन्द्र प्रमुख राउतले जानकारी दिनुभएको छ ।
आवश्यक परे बाँधबाट पानी निकास गर्नुपर्ने अवस्था आउन सक्ने र त्यसले इन्द्रसरोवरदेखि बागमती नदीको तटीय क्षेत्रसम्मका बस्तीमा जोखिम निम्त्याउन सक्ने भएकाले सतर्कता आवश्यक रहेको छ । कुलेखानी जलाशयमा वर्षायाममा पानी सञ्चित गरी हिउँदमा विद्युत् उत्पादन गर्ने गरिन्छ । यसै जलाशयको पानीबाट कुलेखानी पहिलो, दोस्रो र तेस्रो जलविद्युत् आयोजना सञ्चालन हुँदै आएका छन् ।

