स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा
रसुवा । भोटेकोशी नदीको बाढीले सडक सम्पर्क विच्छेद भएपछि अवरुद्ध बनेको रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न बस्ती जोड्ने अस्थायी काठेपुल सञ्चालनमा आएको छ । स्थानीयवासीको आवतजावत सहज बनाउने उद्देश्यले वडा कार्यालय र स्थानीय युवाको पहलमा निर्माण गरिएको पुल बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो ।
गोसाइँकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष मिङमार छिरिङ तामाङका अनुसार वडा कार्यालय र स्थानीयवासीको संयुक्त पहलमा लगातार तीन दिन लगाएर पुल निर्माण गरिएको हो । पुल निर्माणका लागि आवश्यक काठ स्थानीयस्तरबाटै सङ्कलन गरिएको थियो । पुल सञ्चालनमा आएसँगै गाउँपालिकाको वडा नम्बर ३ अन्तर्गत खाम्जिङ, वडा नम्बर २ को टिमुरे र वडा नम्बर ४ को लाड्टाङका बासिन्दालाई आवतजावत गर्न सहज भएको वडाध्यक्ष तामाङले जानकारी दिनुभएको छ ।

