वर्षाको सम्भावनापछि बाँके र दाङका किसानलाई धान भित्र्याउने चटारो
बाँके – मौसम बदली भई वर्षा हुने पूर्वानुमानपछि बाँके र दाङका किसान पाकेको धान भित्र्याउन व्यस्त भएका छन्। बेमौसमी वर्षाले धान भिज्ने र कुहिने जोखिम बढेपछि किसानलाई खेतबारीको काममा भ्याइनभ्याइ भएको छ। बाँकेको नेपालगञ्ज र खजुरा क्षेत्रका किसान धान काट्ने, सुकाउने र सुरक्षित भण्डारण गर्ने काममा जुटेका छन्। पानी परे काटिसकेको धान भिज्ने र खेतमा रहेको बाली ढल्ने चिन्ता किसानमा छ।
नेपालगञ्ज उपमहानगरपालिका–१९ सुइयागाउँका किसान ध्रुवकुमार थापा क्षेत्रीका अनुसार विगतमा पनि असोज र कात्तिकमा परेको बेमौसमी वर्षा तथा बाढीले धानबालीमा क्षति पुर्याएकाले यसपालि किसानले समयमै बाली भित्र्याउन जोड दिएका छन्। चाडपर्वका कारण खेताला पाउन र थ्रेसर तथा ट्र्याक्टरजस्ता उपकरणको व्यवस्था गर्न पनि समस्या भइरहेको छ।
खजुराका अगुवा किसान कृष्णविक्रम केसीले यस वर्ष दसैँ र धान भित्र्याउने समय एकैपटक परेकाले किसानलाई थप चटारो भएको बताउनुभएको छ। कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लामा यस वर्ष ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ।
यस्तै, दाङमा पनि वर्षाको पूर्वानुमानपछि किसानले सामूहिक रूपमा धान भित्र्याउन थालेका छन्। तुलसीपुर उपमहानगरपालिका–७ वेत्रावतीका किसान साउने चौधरीले वर्षाले धान भिजाउने डरले बाहिरबाट खेताला बोलाएर बाली भित्र्याउनुभएको छ। सोही ठाउँकी किसान टोपकुमारी पोखरेलले पनि नातिनातिना, बुहारी, इष्टमित्र र गाउँले गरी १५–१६ जनाको सहयोगमा धान काटेर भित्र्याउनुभएको छ।
गत वर्ष वर्षाका कारण धान कुहिएर पुनः सुकाउनुपरेको अनुभवले यसपालि छिट्टै बाली भित्र्याएको उहाँले बताउनुभयो। पाकेको धान भिजेमा उत्पादन र गुणस्तरमा क्षति पुग्ने जोखिम रहेकाले बाँके र दाङका किसान मौसम प्रतिकूल हुनुअघि नै बाली सुरक्षित गर्न जुटेका छन्।

