रक्तसञ्चार केन्द्रमा रगतको मौज्दात सकियो, रक्तदान गर्न रेडक्रसको आग्रह
काठमाडौँ । केन्द्रीय रक्तसञ्चार सेवामा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदान गर्न सबैमा आग्रह गरेको छ। बडादसैँको बिदापछि रक्तदान कार्यक्रम घटेको र अस्पतालमा उपचाररत बिरामीका लागि रगतको माग बढ्दै गएकाले अभाव भएको रेडक्रसले जनाएको छ।
केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डा. प्रकाश यादवका अनुसार सबै रक्तसमूहको होल ब्लड, प्याक्ड रेड ब्लड सेल र प्लेटलेट्सको मौज्दात सकिएको छ। यसले बिरामीलाई आवश्यक रगत व्यवस्थापन गर्न कठिनाइ भएको उहाँले बताउनुभयो।
रेडक्रसले रक्तदान गरेको तीन महिना पुगेका स्वयंसेवी रक्तदाता तथा १८ वर्ष उमेर पूरा भएका स्वस्थ युवायुवतीलाई रक्तदान गर्न अनुरोध गरेको छ। चाडपर्वका कारण कार्यालय र शैक्षिक संस्थामा रक्तदान कार्यक्रम कम भएकाले रगतको सहज आपूर्तिमा समस्या भएको रेडक्रसका अध्यक्ष डा. विशालकुमार भण्डारीले बताउनुभयो।
नेपाल रेडक्रसले ७३ जिल्लाका १२० स्थानबाट रक्तसञ्चार सेवा सञ्चालन गरिरहेको जनाएको छ। रक्तदान गर्न वा रगत आवश्यक परेमा केन्द्रीय रक्तसञ्चार सेवाको फोन नम्बर ०१–५३८८४८५ र ०१–५३८८४८६ तथा निःशुल्क हटलाइन ११३० मा सम्पर्क गर्न सकिने रेडक्रसले जनाएको छ। साथै, मोबाइलको प्ले स्टोरमा उपलब्ध ‘एनआरसीएस बीटीएस’ एपमार्फत पनि रक्तसञ्चारसम्बन्धी जानकारी लिन सकिनेछ।

