बंगलादेशविरुद्धको मैत्रिपूर्ण फुटबलमा नेपालका अञ्जन विष्टकाे ह्याट्रिक
काठमाडौं , ११ असोज – बंगलादेशविरुद्धको मैत्रिपूर्ण फुटबलमा नेपालका अञ्जन विष्टले ह्याट्रिक गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चलिरहेको खेलको पहिलो हाफमा नै अञ्जनले तीन गोल गरेका हुन् ।
अञ्जनले खेलको १८औं मिनेटमा गोलको खाता खोलेका थिए । उनले बिमल घर्ती मगरको फ्रिकिकमा हेडमार्फत गोल गरेका हुन् । त्यसको ठीक अघि बगंलादेशका कप्तान जमल भुयानको प्रहार बारमा लागेर फर्किएको थियो ।
२७औं मिनेटमा उनले नै दोस्रो गोल गरे । तेज तामाङको प्रहार बंगलादेशी गोलकिपर अनिसुर रहमानले बञ्च गरेका थिए । तर रिबाउन्ड बलमा अञ्जनले गोल गरे । खेलको ३८औं मिनेटमा विशाल राईको फ्रि किकमा हेडर गोल गर्दै अञ्जनले ह्याट्रिक पुरा गरे ।
अन्जन नेपालका लागि ह्याट्रिक गर्ने छैटाैँ खेलाडी बनेका छन् । यसअघि गणेश थापा, नरेश जाेशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए । पछिल्लाे पटक नवयुग २०१६ मा बंगलादेशमा भएकाे बंगबन्धु गाेल्डकपमा माल्दिभ्स विरुद्ध ह्याट्रिक गरेका थिए ।

