सामूहिक सयपत्री फूलखेतीबाट तीन लाख रुपैयाँ आम्दानी गर्ने झापाका महिलाको लक्ष्य
झापा। झापाको शिवसताक्षी नगरपालिका–१०, ट्याक्रमका महिलाले सामूहिक सयपत्री फूलखेतीबाट आम्दानी गर्ने भएका छन्। तिहारलाई लक्षित गरी छ कठ्ठा जमिनमा १० हजार सयपत्रीका बिरुवा लगाएका महिलाले यस वर्ष फूल बिक्रीबाट तीन लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य राखेका छन्। सयपत्री फूल कृषक आमासमूह गठन गरेर सुरु गरिएको खेतीमा करिब २५ हजार रुपैयाँ लगानी गरिएको समूहकी संयोजक कविता बस्नेतले जानकारी दिनुभयो।
तिहार नजिकिएसँगै समूहका महिलालाई फूल टिप्ने, माला उन्ने र बिक्रीको तयारी गर्ने चटारो छ। उनीहरूले एउटा माला एक सयदेखि एक सय ५० रुपैयाँसम्ममा बिक्री हुने अपेक्षा गरेका छन्।
सामूहिक फूलखेतीले स्थानीय महिलालाई आफ्नै गाउँमा रोजगारी र आयआर्जनको अवसर प्रदान गरेको छ। तर, समयमै फूल बिक्री गर्न नसके गुणस्तर घट्ने जोखिम रहेकाले सम्भावित वर्षाबाट फूल जोगाउन माला उनेर शीतभण्डारमा राख्ने तयारी गरिएको संयोजक बस्नेतले बताउनुभयो।
तिहारमा पूजाआजा, घर सजावट र माला बनाउन सयपत्री फूलको माग बढ्ने गर्छ। स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि बाहिरबाट फूल ल्याउनुपर्ने बाध्यता कम हुने र स्थानीय किसानलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ। शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्राले फूलखेतीले महिलाको आयआर्जन बढाउनुका साथै स्थानीय उत्पादनको प्रवर्द्धनमा सहयोग पुग्ने बताउनुभयो।
उहाँले फूलखेतीलाई थप क्षेत्रमा विस्तार गरी व्यावसायिक बनाउन नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। नगरपालिकाले यसअघि फूलखेतीलाई प्रोत्साहन गर्न बिरुवा खरिदमा सहयोग गरेको थियो। उपप्रमुख नरमाया कार्कीले पनि महिलालाई आत्मनिर्भर बनाउन र सामूहिक फूलखेतीलाई निरन्तरता दिन आवश्यक सहजीकरण भइरहेको बताउनुभयो।

