एक महिनामै अन्नपूर्ण क्षेत्रमा झन्डै ३३ हजार विदेशी पर्यटक
गण्डकी। गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन्। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा दुई हजार ४१६ ले बढी हो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा. रविन कडरियाका अनुसार असोजमा दक्षिण एसियाली मुलुकका १२ हजार ६४५ र अन्य देशका २० हजार ३१८ पर्यटक यस क्षेत्रमा पुगेका छन्। गत वर्ष असोजमा ३० हजार ५४७ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए।
चालु आर्थिक वर्षमा सबैभन्दा बढी पर्यटक असोजमै भित्रिएका छन्। यसअघि साउनमा २६ हजार ५९१ र भदौमा १७ हजार ९१३ विदेशी पर्यटक पुगेका थिए। असोज र कात्तिक मुख्य पर्यटकीय याम भएकाले यो अवधिमा पर्यटक आगमन बढ्ने गरेको आयोजनाले जनाएको छ।
आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा पदयात्रा गर्ने विदेशी पर्यटकको मात्रै तथ्याङ्क राख्ने गरेको छ। सडकमार्गबाट पुग्ने आन्तरिक पर्यटकको संख्या भने यसमा समावेश छैन। दसैँ र तिहारबीचको समय पदयात्राका लागि उपयुक्त मानिने भएकाले यही अवधिमा पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्ने गरेको डा. कडरियाले बताउनुभयो।
शरद याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ र घोडेपानी लगायतका गन्तव्यमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्ने गरेको छ। कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएको सात हजार ६०० वर्ग किलोमिटर क्षेत्रफलको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सुन्दरता, जैविक विविधता, हिमाली जनजीवन र संस्कृतिका कारण विश्वकै लोकप्रिय पदयात्रा गन्तव्यमध्ये एक मानिन्छ।
Facebook Comments Box

