तनहुँमा सडक भासिएको एक वर्ष बित्दा पनि पुनर्निर्माण भएन, यात्रुलाई सास्ती

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङस्थित पृथ्वी राजमार्गमा सडक भासिएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि पुनर्निर्माण हुन सकेको छैन। सडकमा एकतर्फी सवारी सञ्चालन हुँदा मुग्लिन–आँबुखैरेनी खण्डमा जाम बढेपछि यात्रुले सास्ती खेप्नुपरेको छ।

सवारी आवागमन व्यवस्थित गर्न प्रहरीले आलोपालो प्रणाली लागू गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार भासिएको सडकमा दुवैतर्फका सवारी एकैपटक सञ्चालन गर्दा समस्या हुने भएकाले प्रहरी परिचालन गरी पालैपालो आवागमनको व्यवस्था मिलाइएको छ।

काठमाडौँलगायत विभिन्न स्थानबाट देशको पश्चिमी क्षेत्रतर्फ जाने सवारीसाधनका लागि महत्वपूर्ण मानिने यस सडकखण्डमा सडक भासिएपछि यात्रु र चालकले लामो समय जाममा बस्नुपर्ने समस्या भोग्दै आएका छन्। यता, सडक डिभिजन कार्यालय दमौलीका प्रमुख राजीव श्रेष्ठले निर्माण कम्पनीलाई काम छिटो सम्पन्न गर्न ताकेता गरिरहेको बताउनुभएको छ। पाँच वर्षको वारेन्टी अवधि सकिन छ महिना बाँकी रहँदा सडक पुनः भासिएकाले यसको पुनर्निर्माण निर्माण कम्पनीले नै गर्नुपर्ने उहाँले जानकारी दिनुभयो।

Facebook Comments Box