कारको फल्स बटममा लुकाएको १४ किलोभन्दा बढी चाँदीजस्तो धातुसहित चार जना पक्राउ
मकवानपुर – मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्टबाट चाँदीजस्तो देखिने १४ किलो १८० ग्राम सेतो धातुसहित चार जना पक्राउ परेका छन्। भारतको रक्सोलबाट काठमाडौँ आउँदै गरेको बा २ च ७०७९ नम्बरको कार जाँच गर्ने क्रममा उक्त धातु बरामद भएको प्रहरीले जनाएको छ। आइतबार दिउँसो सवा ३ बजे प्रहरी नायब निरीक्षक प्रमोदकुमार साहको नेतृत्वमा खटिएको टोलीले कार जाँच गर्दा चारवटै ढोकाको भित्री भागमा फल्स बटम बनाएर धातु लुकाइएको अवस्थामा फेला पारेको हो।
पक्राउ पर्नेमा भारतको रक्सोल निवासी करिब ५० वर्षीय चालक रमेशकुमार साह सोनार, उनकी ४२ वर्षीया श्रीमती चन्दा देवी सोनार, उनीहरूका १७ वर्षीय छोरा र चालककी २० वर्षीया भान्जी नन्दनी कुमारी साह रहेका छन्। बरामद धातुको शुद्ध तौल १४ किलो १८० ग्राम रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका चारै जनालाई बरामद धातुसहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ।

