बेलिब्रिज जडानसँगै रसुवा–नुवाकोटमा जनजीवन सहज बन्दै

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त सडक सञ्जालमा बेलिब्रिज जडान हुन थालेसँगै रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जनजीवन बिस्तारै सहज बन्दै गएको छ। बेलिब्रिज जडानपछि एक महिनादेखि ठप्प रहेको यातायात तथा आपूर्ति प्रणालीमा सुधार आएको छ। बाढीपछि अभाव झेलिरहेका बस्तीमा खाद्यान्न, खाना पकाउने ग्यास र औषधीको आपूर्ति सहज हुन थालेको छ। व्यापारिक गतिविधिसमेत पुनः सुरु भएका छन्।

रसुवागढी नाकामा रोकिएका कन्टेनर तथा सामान बोकेका सवारीसाधन गन्तव्यतर्फ जान थालेका छन्। यसबाट दसैँका लागि सामान आयात गर्ने व्यापारीलाई राहत पुगेको छ। राहत तथा पुनर्स्थापनाका सामग्री र पुनर्निर्माणका सामान ढुवानीमा समेत सहज भएको छ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार बेलिब्रिज तथा सडक पुनर्निर्माणसँगै जिल्लाको जनजीवन बिस्तारै सामान्य बन्दै गएको छ। तादीखोलामा एक्रोब्रिज निर्माण भई सञ्चालनमा आइसकेको छ भने ढुङ्गे र वेत्रावतीमा बेलिब्रिज निर्माणको काम भइरहेको छ।

इन्द्रेणी, ढुङ्गे र देवीघाटमा झोलुङ्गे पुल निर्माण भइरहेको छ। जिल्लाका विभिन्न स्थानमा भित्री सडकसमेत निर्माण भइरहेका छन्। अहिले बाढी प्रभावित क्षेत्रमा चार वटा तुइन र एउटा जिपलाइन सञ्चालनमा रहेको र यसले आवतजावत तथा दैनिक उपभोग्य सामग्री ओसारपसारमा सहयोग पुगेको प्रशासनले जनाएको छ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालका अनुसार रसुवा र नुवाकोट जोड्ने वेत्रावतीमा निर्माणाधीन बेलिब्रिज सञ्चालनमा आएपछि सामाजिक तथा आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ। उहाँका अनुसार बेलिब्रिज अबको आठदेखि १० दिनमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ।

सडक विभाग पुल महाशाखाका प्रमुख इन्जिनियर ललिजन खनालका अनुसार बाढीबाट क्षतिग्रस्त सडक तथा पुललाई पुनः सञ्चालनमा ल्याउन बेलिब्रिज जडानको काम तीव्र पारिएको छ। सरकारको असोजभित्र बाढी प्रभावित प्रमुख सडक सञ्चालनमा ल्याउने लक्ष्यअनुसार विभिन्न स्थानमा बेलिब्रिज जडान भइरहेको उहाँले बताउनुभयो।

बाढीबाट रसुवा, नुवाकोट र धादिङ जोड्ने दर्जनौँ मोटरेबल तथा झोलुङ्गे पुलमा क्षति पुगेको छ। पूर्ण रूपमा ३५ वटा पुल क्षतिग्रस्त भएको जनाउँदै पुल महाशाखाले नुवाकोटको देवीघाटस्थित तादी नदी, त्रिशूली बजार र वेत्रावती बजारमा बेलिब्रिज राख्ने तयारी भइरहेको जनाएको छ। तादी नदीमा भने एक्रोब्रिज जडान भई सञ्चालनमा आइसकेको छ।

रसुवा–नुवाकोट सीमास्थित वेत्रावतीको फलाखुखोलामा बेलिब्रिज राख्न जग निर्माण र प्राविधिक नापजाँच भइरहेको छ। कठिन भूगोल तथा पहिरोग्रस्त क्षेत्रमा नयाँ ट्र्याक खोल्दै बेलिब्रिजका सामग्री सम्बन्धित स्थानमा पुर्‍याउने काम भइरहेको छ।

बाढीका कारण चीनसँगको द्विपक्षीय व्यापारसमेत प्रभावित भएकाले स्याफ्रुबेँसी र रोङ्गाखोलालगायत रणनीतिक स्थानमा बेलिब्रिज जडानलाई प्राथमिकता दिइएको छ। तर, सडक सञ्जाल अवरुद्ध रहेकाले आवश्यक सामग्री ढुवानीमा भने चुनौती रहेको पुल महाशाखाले जनाएको छ।

यसैबीच, भारत, चीन र अमेरिकाबाट थप बेलिब्रिज ल्याउने प्रक्रिया अघि बढाइएको छ। भारतबाट ७० मिटर लामो एउटा बेलिब्रिज नेपाल आइपुगेको छ भने चीनबाट आएको एउटा बेलिब्रिज तत्काल प्रयोग गर्न नसकिने अवस्थामा रहेको पुल महाशाखाका प्रमुख खनालले जानकारी दिनुभयो। अमेरिकाबाट पनि बेलिब्रिज ल्याउने प्रक्रिया अघि बढेको छ।

सडक विभागसँग अहिले ५० मिटर लम्बाइका १० वटा बेलिब्रिज जगेडामा रहेका छन्। तर बाढी प्रभावित क्षेत्रमा ७० मिटरभन्दा लामो बेलिब्रिज आवश्यक पर्ने देखिएपछि भारत, चीन र अमेरिकालगायत मुलुकसँग थप बेलिब्रिज माग गरिएको विभागले जनाएको छ।

Facebook Comments Box