आज ऋषिपञ्चमी पर्व : सप्तऋषिको पूजा–आराधना हुँदै

काठमाडौँ, १२ भदौ

भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी पर्व आज देशभरका महिला भक्तजनले सप्तऋषिको पूजा–आराधना गरी मनाइरहेका छन्। धार्मिक परम्परा अनुसार महिलाले बिहानै नदी, खोला वा पोखरीमा स्नान गरी ३६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी प्रयोग गर्ने प्रचलन छ। यसरी शुद्ध भई अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने चलन रहेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार, आजको व्रतले रजस्वला अवधिमा भएका त्रुटिबाट मुक्त हुने विश्वास गरिन्छ। पौराणिक किंवदन्तीअनुसार इन्द्रले विश्वरुपको हत्या गरेपछि ब्रह्महत्याको दोष चार भागमा विभाजन गरी पृथ्वी, वृक्ष, जल र स्त्रीमा बाँडिएको धार्मिक धारणा छ। त्यसैले रजस्वला अवधिसँग ऋषिपञ्चमीको सम्बन्ध जोडिएको मानिन्छ।

पर्वको अवसरमा भक्तजनले सामा, कागुनो, कन्दमूल, कर्कलाजस्ता नरोपी उम्रेका अन्न सेवन गरी एक छाक हविष्य बस्ने व्रतसमेत गर्छन्। यस दिन काठमाडौँको टेकु र मूलपानीसहित देशभरका ऋषेश्वर मन्दिरहरूमा पूजाआजाका लागि महिला भक्तजनको घुइँचो लागेको छ।

Facebook Comments Box