नागढुङ्गा सुरुङमार्गमा ट्राफिक नियम उल्लङ्घन गर्ने २८४ चालक कारबाहीमा

काठमाडौँ । नागढुङ्गास्थित सुरुङमार्गमा पटक–पटक ट्राफिक नियम उल्लङ्घन गर्ने २८४ जना सवारी चालकलाई कारबाही गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार सुरुङमार्गभित्र लेन अनुशासन कायम नगर्ने, तीव्र गतिमा सवारी चलाउने, जथाभावी ओभरटेक गर्ने, अनावश्यक हर्न बजाउने तथा बाटो अवरोध गर्ने चालकलाई कारबाही गरिएको हो ।

सुरुङमार्ग सञ्चालनमा आएदेखि नै नियम उल्लङ्घन गर्ने चालकलाई कारबाहीको दायरामा ल्याइएको प्रवक्ता सुवेदीले बताउनुभयो । सुरुङमार्गभित्र सवारीको अधिकतम गति प्रतिघण्टा ४० किलोमिटर तोकिएको छ । सोहीअनुसार सूचना बोर्ड राखिएको र निर्धारित गति उल्लङ्घन गर्ने चालकलाई कारबाही गरिएको उहाँले जानकारी दिनुभयो ।

ट्राफिक प्रहरीका अनुसार सुरुङभित्र स्टन्ट गर्ने, अनावश्यक हर्न बजाउने, गलत तरिकाले ओभरटेक गर्ने तथा तीव्र गतिमा सवारी चलाउनेजस्ता गतिविधि हुने गरेका छन् । यस्ता गतिविधिले दुर्घटनाको जोखिम बढाउनुका साथै आकस्मिक अवस्थामा उद्धार कार्यसमेत प्रभावित हुनसक्ने प्रहरीले जनाएको छ ।

सुरुङमार्ग प्रयोग गर्दा अन्य सडकको तुलनामा थप संवेदनशील भएर सवारी चलाउन ट्राफिक प्रहरीले चालकलाई आग्रह गरेको छ । सुरुङभित्र लेन अनुशासन कायम गर्ने, निर्धारित गति पालना गर्ने, अनावश्यक हर्न नबजाउने तथा ओभरटेक गर्दा विशेष सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ ।

बिहीबार मात्रै सुरुङमार्गमा ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने १३ जना चालक कारबाहीमा परेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयअन्तर्गत ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले उनीहरूलाई कारबाही गरेको हो ।

Facebook Comments Box