‘कांग्रेस बुढो भयो, विचार बुढो भयो, केही पनि छैन । महाधिवेशन आयोजना गर्न नसक्ने हालतमा पुग्यो ।’ : केपी शर्मा ओली

काठमाडौं, १३ कात्तिक – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसमाथि प्रश्न उठाएका छन् । पाँच वर्षमा महाधिवेशन गर्नुपर्ने भएपनि अझै नगरेको भन्दै उनले कांग्रेसमा महाधिवेशन गर्ने क्षमता नै नभएको बताए ।

शनिबार सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘५ वर्षभित्र गर्नुपर्ने, गर्न नसक्ने । त्यसपछि ६ महिनामा गर्नुपर्ने, गर्न नसक्ने । निर्वाचन आयोगले दिएको ६ महिनाभित्र अहिले पनि १३ वटा जिल्लामा भएको छ । बाँकी, बाँकी नै छ ।’

मंसिर दोस्रो साता गर्ने भनिएको महाधिवेशन पनि गर्न नसक्ने भनिसकेको भन्दै ओलीले अघि भने, ‘महाधिवेशन आयोजना गर्ने क्षमता नै कांग्रेससँग समाप्त भइसक्यो ।’

उनले भने, ‘कांग्रेस बुढो भयो, विचार बुढो भयो, केही पनि छैन । महाधिवेशन आयोजना गर्न नसक्ने हालतमा पुग्यो ।’

एमालेले असोज १५–१७ मा विधान महाधिवेशन गरेको र मंसिरमा अर्को महाधिवेशन गर्न भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘असाधारण जनउपस्थितिका साथ महाधिवेशन हुनेछ । एमालेको क्षमता देखेर दुनियाँ आश्चर्यचकित हुनेछ ।’

Facebook Comments Box