विदेशी विनिमय सञ्चिति साउन मसान्तमा आउँदा १.५ प्रतिशतले घट्यो

काठमाडौं, ३० भदौ – चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामै विदेशी विनिमय सञ्चिति घटेको छ । गत आर्थिक वर्ष २०७८/७९ को अन्तिम त्रैमासमा सुधारोन्मुख देखिएको विदेशी विनिमय सञ्चिति चालु आवको पहिलो महिनामै १.५ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति साउन मसान्तमा आउँदा १.५ प्रतिशतले घटेर ११ खर्ब ९७ अर्ब ८५ करोड कायम भएको छ ।

असारको तुलनामा साउनमा रेमिट्यान्स घटेको तथा अन्य विदेशी सहायता परिचालन पनि नहुँदा शोधनान्तर र चालु खाता दुवै घाटामा गएको राष्ट्र बैंकले जनाएको छ । असारको तुलनामा साउनमा व्यापार घाटा घटेपनि मुलुकमा आउने विदेशी मुद्रा संकुचन हुँदा असारमा सुधारोन्मुख देखिएको विदेशी विनिमय सञ्चिति साउनमा पुनः घटेको हो ।

अमेरिकी डलरमा पनि विदेशी विनिमय सञ्चिति १.२ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड डलर रहेको विदेशी विनिमय सञ्चिति २०७९ साउन ९ अर्ब ४२ करोड डलरमा झरेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ साउन मसान्तमा ०.७ प्रतिशतले घटेर १० खर्ब ४९ अर्ब ११ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ साउन मसान्तमा ६.७ प्रतिशतले घटेर १ खर्ब ४८ अर्ब ७४ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ । २०७९ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ ।

Facebook Comments Box