भोटेकोशी बाढीपीडितका लागि लामिछाने फाउन्डेसनले एक करोड सात लाख सहयोग गर्ने

लन्डन । ‘द लामिछाने फाउन्डेसन’ले भोटेकोशी बाढीपीडितका लागि एक करोड सात लाख रुपैयाँ सहयोग गरेको छ । बेलायतस्थित च्यारिटी कमिसनमा दर्ता भएको फाउन्डेसनले नेपाली दूतावासको बैंक खातामा ५१ हजार ७२७ पाउण्ड जम्मा गरेको हो ।

लन्डनस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा फाउन्डेसनका अध्यक्ष तथा फेसन व्यवसायी एवं समाजसेवी रविन्द्रजंग लामिछानेले कार्यवाहक राजदूत विपिन दुवाडी र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणालाई चेक हस्तान्तरण गर्नुभयो । दूतावासका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइनेछ ।

सहयोग हस्तान्तरण कार्यक्रममा सांसद राणाले बाढीपीडितलाई सहयोग गरेकामा फाउन्डेसन र लामिछानेप्रति आभार व्यक्त गर्दै नेपाललाई पुनःस्थापना र पुनर्निर्माणका लागि प्रवासी नेपाली तथा अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले बेलायत भ्रमणका क्रममा बाढीपछिको पुनर्निर्माणमा सहयोग गर्न बेलायती राजनीतिज्ञसँग समेत आग्रह गरेको जानकारी दिनुभयो ।

राणाका अनुसार पुनर्निर्माणमा नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब १० प्रतिशतसम्म खर्च हुने अनुमान रहेकाले अन्तर्राष्ट्रिय सहयोग आवश्यक छ । कार्यवाहक राजदूत दुवाडीले फाउन्डेसनप्रति कृतज्ञता व्यक्त गर्दै लामिछानेले यसअघि महाभूकम्प र कोभिड–१९ महामारीका समयमा समेत नेपाललाई सहयोग गरेको स्मरण गर्नुभयो । उहाँले नेपाल सरकार अहिले उद्धारपछि पुनःस्थापना र पुनर्निर्माणमा केन्द्रित रहेको बताउनुभयो ।

फाउन्डेसनका अध्यक्ष लामिछानेले देशमा विपत्ति पर्दा सहयोग गर्नु आफ्नो दायित्व भएको बताउनुभयो । उहाँले यसपटकको बाढीबाट प्रभावित नागरिकका लागि सहयोग जुटाउन आफू अघि सरेको उल्लेख गर्दै फाउन्डेसनलाई सहयोग गर्ने सबै दातालाई धन्यवाद दिनुभयो ।

लामिछानेले सन् २०१५ को भूकम्पका बेला नेपाली सेना र नेपाल प्रहरीमार्फत कम्बल, पाल तथा अत्यावश्यक सामग्री सहयोग गर्नुका साथै तत्कालीन प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्नुभएको थियो । कोभिड–१९ महामारीका क्रममा प्रधानमन्त्री राहत कोषमा १५ लाख रुपैयाँ सहयोग तथा बेलायतस्थित स्वामीनारायण संस्थासँगको सहकार्यमा ३३ थान पोर्टेबल अक्सिजन कन्सन्ट्रेटरसमेत उपलब्ध गराउनुभएको थियो ।

फाउन्डेसनले शिक्षा तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको जनाएको छ । लामिछाने संस्थापक अध्यक्ष रहेको रविचन्द्र ट्रस्ट नेपालले हाल ५५ जना गरिब तथा जेहेन्दार बालबालिकालाई छात्रवृत्ति प्रदान गरिरहेको छ । उहाँले विभिन्न धार्मिक तथा सांस्कृतिक संस्थालाई समेत आर्थिक सहयोग गर्दै आएको कार्यक्रममा जानकारी दिइयो ।

बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चका उपाध्यक्षसमेत रहेका लामिछानेले दुई देशबीचको व्यापारिक, राजनीतिक तथा सामाजिक सम्बन्ध विस्तारमा समेत भूमिका निर्वाह गर्दै आएको कार्यक्रममा सहभागीहरूले बताएका थिए । फाउन्डेसनका बोर्ड अफ ट्रस्टी लक्ष्मी राई र सूर्यप्रसाद उपाध्यायले संस्थाको उद्देश्य तथा भावी कार्यक्रमबारे जानकारी गराउनुभएको थियो ।

Facebook Comments Box