माझीटार बस्ती जोगाउन हेंवा खोलामा तटबन्ध निर्माण सम्पन्न
पाँचथर, ३० असार – पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमास्थित माझीटार बस्तीलाई बाढी र कटानबाट जोगाउन हेंवा खोलामा तटबन्ध निर्माण सम्पन्न गरिएको छ। सिँचाइ तथा जलस्रोत आयोजना कार्यालय झापाले बस्ती तथा खेतीयोग्य जमिन संरक्षणका लागि हेंवा खोलाको दुवै किनारमा तटबन्ध निर्माण गरेको हो।
आयोजना कार्यालयका प्राविधिक दिनेश सुवेदीका अनुसार हिलिहाङतर्फ १८० मिटर र फिदिमतर्फ ९६ मिटर, गरी २७६ मिटर लामो तथा तीन मिटर अग्लो तटबन्ध निर्माण गरिएको छ। उनका अनुसार बर्सेनि हुने कटानबाट बस्ती र खेतीयोग्य जमिन जोगाउने उद्देश्यले तटबन्ध निर्माण गरिएको हो।
तीन करोड रुपैयाँको लागतमा रणकाली माता निर्माण कम्पनीले हेंवा खोलासँगै पाँचथर–ताप्लेजुङ सीमास्थित काबेली नदीमा पनि २०० मिटर लामो तटबन्ध निर्माण गरेको जनाएको छ। पछिल्ला तीन वर्षयता बाढीका कारण हेंवा खोलाले बहाव परिवर्तन गर्दै व्यापारिक तथा पर्यटकीय क्षेत्र माझीटारमा तीव्र कटान गर्दै आएको थियो। कटानका कारण सयौँ रोपनी खेतीयोग्य जमिनमा क्षति पुग्नुका साथै सिँचाइ र खानेपानीका स्रोतसमेत प्रभावित भएका छन्।
हिलिहाङ गाउँपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक वीरेन्द्र मंग्रातीले यस वर्षदेखि तटबन्ध निर्माणको काम सुरु गरिएको र आगामी आर्थिक वर्ष २०८३/८४ मा पनि यसको विस्तारका लागि सङ्घीय सरकारबाट बजेट विनियोजन गराउने पहल भइरहेको जानकारी दिए। स्थानीयवासीका अनुसार अहिले हेंवा खोलासँगै तमोर नदीको बहाव पनि बस्तीतर्फ मोडिन थालेकाले जोखिम थप बढेको छ। स्थानीय वीरबहादुर माझीले तमोर नदीतर्फ पनि तटबन्ध निर्माण आवश्यक भइसकेको बताए।
नेपाल माझी उत्थान सङ्घ पाँचथरका अध्यक्ष रामकुमार माझीले तटबन्ध निर्माणपछि माझीटारको मुख्य बस्तीको जोखिम केही कम भएको बताए। स्थानीय माछाका परिकारका लागि प्रसिद्ध माझीटार पर्यटकको आकर्षक गन्तव्य भए पनि बाढीको जोखिमका कारण स्थानीय र व्यवसायी चिन्तित थिए। तटबन्ध निर्माणले तत्काल केही राहत पुगे पनि दीर्घकालीन सुरक्षा सुनिश्चित गर्न थप संरचना निर्माण आवश्यक रहेको उनको भनाइ छ।

