बाढी पसेपछि ६ मेगावाटको रेलेखोला जलविद्युत आयोजना बन्द

म्याग्दी । बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजना बन्द भएको छ । आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण रेलेखर्कको फेदीमा रहेको बाँधमा क्षति पुगेपछि विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको हो ।

रेलेखर्क क्षेत्रमा पहिरो गएपछि रेलेखोलामा बाढीको सतह बढेर बाँधमा थुप्रिएको छ । बाढीले बाँधका भौतिक संरचनामा समेत क्षति पुर्‍याएको आयोजनाले जनाएको छ । भौगोलिक रूपमा दुर्गम क्षेत्रमा रहेको बाँधस्थलसम्म पुग्ने पहुँचमार्गसमेत पहिरोका कारण अवरुद्ध भएकाले बाढी पन्छाएर आयोजना सञ्चालनमा ल्याउन समस्या भएको काफ्लेले बताए । विद्युत् उत्पादन बन्द हुँदा आयोजनाले विद्युत् बिक्रीबाट हुने आम्दानीसमेत गुमाएको छ ।

गत वर्ष निर्माण सम्पन्न भएको आयोजना २२० केभी क्षमताको दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । कालीगण्डकी क्षेत्रमा आएको बाढीपहिरोले प्रसारण लाइनका टावर बगाउनुका साथै तार चुडाएर समेत क्षति पुर्‍याएको जनाइएको छ ।

Facebook Comments Box