कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको छ भने बागमती प्रदेशको तराईका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागसहित देशका तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्नेछ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । तराई क्षेत्रमा आंशिक बदली रही बिहानीपख हुस्सु लाग्ने सम्भावना रहेको छ । राति कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

