कैलाली–कञ्चनपुरमा बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर, १४ फागुन – कैलाली जिल्लाकञ्चनपुर जिल्ला का विभिन्न स्थानमा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ सङ्क्रमण पुष्टि भएको छ। व्यावसायिक रूपमा पालिएका बङ्गुरमा उच्च ज्वरो आउने, शरीरका विभिन्न भागमा नीलो तथा रातो धब्बा देखिने र अकस्मात् मर्न थालेपछि गरिएको प्राविधिक परीक्षणबाट रोग पुष्टि भएको हो।

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढी ले द्रुत प्रतिक्रिया टोली परिचालन गरी नमूना सङ्कलन गरेको थियो। प्रारम्भिक रूपमा ‘रेपिड एन्टिजेन’ परीक्षणमा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पठाइएको थियो। पिसिआर विधिबाट परीक्षण गर्दा रोग पुष्टि भएको वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीले जानकारी दिनुभयो।

हालसम्म धनगढी उपमहानगरपालिका र घोडाघोडी नगरपालिका (कैलाली) तथा कृष्णपुर नगरपालिका (कञ्चनपुर) क्षेत्रमा किसानले पालेका बङ्गुरमा सङ्क्रमण देखिएको जनाइएको छ। वरिष्ठ पशु चिकित्सक जोशीका अनुसार रोग प्रारम्भिक चरणमै रहेकाले किसानले समयमै जैविक सुरक्षा उपाय अवलम्बन नगरे ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था आउन सक्छ।

सङ्क्रमण फैलिन नदिन सम्बन्धित फार्म सञ्चालकलाई सचेत गराइएको र उच्च सतर्कता अपनाउन निर्देशन दिइएको उहाँले बताउनुभयो। अफ्रिकन स्वाइन फिभर घरपालुवा सुँगुर, बङ्गुर तथा जङ्गली बँदेलमा भाइरसका कारण लाग्ने अत्यन्त सङ्क्रामक र घातक रोग हो। यसबाट सङ्क्रमित बङ्गुरको मृत्युदर शतप्रतिशतसम्म पुग्न सक्ने जनाइएको छ। रोग फैलिए पूरै बथान नष्ट हुने जोखिम रहने भएकाले किसानलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

पशु अधिकृत रामप्रसाद भट्टका अनुसार सङ्क्रमित बङ्गुरमा १०४ देखि १०७ डिग्री फरेनहाइटसम्म ज्वरो आउने, दानापानी नखाने, झोक्राउने, एकै ठाउँमा थुप्रिने, छट्पटाउने, नाकबाट फिँज निकाल्ने, बान्ता गर्ने, छेर्ने तथा हिँड्दा धरमराउने जस्ता लक्षण देखिन्छन्। कानको टुप्पो, पुच्छर र पेटको तल्लो भागमा रातो वा नीलो धब्बा देखिनु रोगको प्रमुख पहिचान भएको उहाँले बताउनुभयो।

यो रोग मानिसमा नसरिने भए पनि आर्थिक रूपमा गम्भीर असर पार्ने भएकाले अस्वाभाविक लक्षण देखिएमा वा बङ्गुर मर्न थालेमा तुरुन्त नजिकको पशु सेवा शाखा, भेटेरिनरी अस्पताल, पशु क्वारेन्टाइन चेकपोस्ट वा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा जानकारी गराउन सम्बन्धित निकायले आग्रह गरेका छन्।

Facebook Comments Box