आजदेखि सोह्रश्राद्ध अर्थात् पितृ पक्ष सुरु
काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृति प्राप्त पात्रोअनुसार आज प्रतिपदा तिथिको श्राद्ध गर्नुपर्नेछ । प्रतिपदा तिथिको श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिनुभयो ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ तिथिमा दिवंगत पितृको सम्मानमा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिन्छ । यस अवधिलाई अपर पक्ष वा प्रेत पक्षका रूपमा समेत चिनिन्छ । वैदिक सनातन हिन्दू परम्पराअनुसार चाडपर्व तथा ठूला धार्मिक कार्य गर्नुअघि पितृलाई श्रद्धापूर्वक सम्झिने उद्देश्यले सोह्रश्राद्ध गर्ने गरिन्छ । सोह्रश्राद्ध गरेमा पितृप्रतिको दायित्व पूरा हुने र पितृऋणबाट मुक्त भइने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद्हरू बताउँछन् ।
धर्मशास्त्रविद् प्रा तोयराज नेपालका अनुसार सोह्रश्राद्ध अपराह्नकालमा गर्नुपर्ने शास्त्रीय व्यवस्था छ । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थाबाहेक सोह्रश्राद्ध छोड्न नहुने उहाँले बताउनुभयो । कारणवश तोकिएको तिथिमा श्राद्ध गर्न नसकिएमा शास्त्रमा विभिन्न विकल्पसमेत दिइएका छन् । आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म, त्यसपछि अष्टमी, द्वादशी, औँसी, भरणी नक्षत्र तथा व्यतिपात योग परेका दिन रोकिएको श्राद्ध गर्न सकिने व्यवस्था रहेको प्राडा भट्टराईले बताउनुभयो ।
त्यस अवधिमा पनि गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन र त्यसमा पनि सम्भव नभए वृश्चिक सङ्क्रान्तिसम्म श्राद्ध गर्न सकिने धर्मशास्त्रीय व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले कतिपय पुरोहितले आफ्नो अनुकूल बिहानै श्राद्ध गर्न सुझाव दिने गरेको जानकारी आए पनि सोह्रश्राद्ध बिहान गर्ने विषय शास्त्रसम्मत नभएको बताउनुभयो । उहाँका अनुसार सोह्रश्राद्ध अपराह्नकालमै गर्नुपर्छ । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ । ठूला पर्व तथा चाडपर्व मनाउनुअघि पितृको तृप्तिका लागि श्राद्ध गर्ने वैदिक सनातन परम्परा रहँदै आएको छ ।

