मनास्लु आधार शिविरमा युवाले थालेको आमरण अनसन स्थगित
गोरखा । मनास्लु आधार शिविरमा युवाहरूले शुक्रबारदेखि थालेको आमरण अनसन स्थगित गरेका छन् । गण्डकी प्रदेश सरकार र मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले माग सम्बोधनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएपछि उनीहरूले अनसन स्थगित गरेका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक अपिल गर्दै वार्ता र छलफलमार्फत माग सम्बोधन गर्न तत्काल अनसन स्थगित गरी संवादमा आउन आग्रह गरेको थियो । प्रदेश सरकारले नेपाल सरकार, स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी माग सम्बोधनका लागि पहल गर्ने जनाएको थियो । एमक्यापले पनि अनसन फिर्ता लिएर वार्तामार्फत माग सम्बोधन गर्न आग्रह गर्दै आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको थियो ।
जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र हिमताल फुट्ने जोखिम नियन्त्रणलगायतका माग राख्दै चुमनुव्री गाउँपालिका–१ सामागाउँका धावा नुर्वु लामाको नेतृत्वमा १० जना युवाले शुक्रबारदेखि करिब ४ हजार ९ सय मिटर उचाइमा रहेको मनास्लु आधार शिविरमा आमरण अनसन थालेका थिए । उनीहरूले जलवायु परिवर्तनका कारण हिमताल फुट्ने जोखिम बढ्दै गएकाले जोखिम न्यूनीकरण र पूर्वतयारीका लागि सरकारले समयमै आवश्यक कदम चाल्नुपर्ने माग राखेका थिए ।

