तनहुँतर्फ प्रसारण लाइनका सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति

दमौली । तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर २२० केभी प्रसारण लाइनका लागि तनहुँतर्फका सबै १७ सामुदायिक वनमा रुख कटानको कानुनी स्वीकृति प्राप्त भएको छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार रुखको छपान तथा टाँचा लगाउने काम सम्पन्न भएपछि डिभिजन वन कार्यालयले थप १२ सामुदायिक वनमा रुख कटानको अनुमति दिएको हो । प्रसारण लाइन क्षेत्रअन्तर्गत देवघाटमा पाँच तथा बन्दीपुर र व्यासमा छ–छ सामुदायिक वन रहेका छन् ।

प्रसारण लाइन निर्माणको प्याकेज–३ अन्तर्गत करिब ३५ किलोमिटर क्षेत्रमा ९४ वटा टावर निर्माण गर्नुपर्नेछ । निर्माण व्यवसायी केइसी इन्टरनेशनल लिमिटेडले हालसम्म ८३ वटा टावरको जग र ७८ वटा टावर जडानको काम पूरा गरेको छ । प्याकेज–३ को समग्र निर्माण प्रगति ८२ प्रतिशत पुगेको आयोजनाले जनाएको छ । चितवनतर्फ भने रुख कटानको काम जारी छ । तनहुँतर्फ रुख कटानको स्वीकृति प्राप्त भएसँगै बाँकी निर्माण कार्यले थप गति लिने अपेक्षा गरिएको छ ।

तनहुँ जलविद्युत आयोजनाका तीनवटै प्याकेजमा काम भइरहेको छ । बाँधलगायत संरचना निर्माणको प्याकेज–१ मा ६३ प्रतिशत र विद्युतगृह तथा सम्बन्धित उपकरणको प्याकेज–२ मा ७९ प्रतिशत प्रगति भएको छ । आयोजनाको समग्र निर्माण प्रगति ७८ प्रतिशत पुगेको जनाइएको छ ।

Facebook Comments Box