प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी, वर्षको अन्त्यसम्म जाने वाग्लेको संकेत
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी अघि बढिरहेको संकेत गर्नुभएको छ । भारतको तीन दिने भ्रमण सकेर शनिबार काठमाडौँ फर्कनुअघि भारतीय पत्रकारसँगको कुराकानीमा वाग्लेले सन् २०२६ को अन्त्यसम्म प्रधानमन्त्री शाहको भारत भ्रमण गराउने विषयमा दुवै पक्षबीच छलफल भइरहेको बताउनुभएको हो । भारतीय सञ्चारमाध्यमहरूले पनि प्रधानमन्त्री शाहको भारत भ्रमण वर्षको अन्त्यतिर हुनसक्ने उल्लेख गरेका छन् ।
वाग्लेको भारत भ्रमणका क्रममा भारतीय वित्तमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता भएको थियो । भेटवार्तामा आर्थिक सम्बन्धसँगै लगानी, ऊर्जा, कनेक्टिभिटी तथा भोटेकोसी बाढीपछिको पुनर्निर्माणमा भारतीय सहयोगका विषयमा छलफल भएको थियो ।
वाग्लेले शुक्रबार नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरमा पूर्वभारतीय विदेश सचिव श्यामशरणको संयोजनमा भएको उच्चस्तरीय कूटनीतिक संवादमा समेत सहभागिता जनाउनुभएको थियो । कार्यक्रममा नेपाल–भारत सम्बन्ध, आर्थिक सहकार्य र कनेक्टिभिटी विस्तारलगायतका विषयमा छलफल भएको थियो ।
भारतीय सञ्चारमाध्यमका अनुसार वाग्लेको जयशंकरसँगको भेटमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा आगामी उच्चस्तरीय भ्रमणका विषयमा समेत छलफल भएको थियो । यद्यपि प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति भने औपचारिक रूपमा तय भइसकेको छैन । यसअघि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी भइरहेको संकेत गर्नुभएको थियो ।
भारतीय पक्षसँगको उच्चस्तरीय भेटवार्तापछि प्रधानमन्त्रीको सम्भावित भ्रमणबारे थप संवाद अघि बढेको देखिएको छ । अर्थमन्त्री वाग्ले भारत सरकारको निमन्त्रणामा असोज २ देखि ४ गतेसम्म नयाँ दिल्लीमा रहनुभएको थियो । उहाँले भारतीय समकक्षी सीतारमणसँगको भेटमा भोटेकोसी बाढीबाट भएको क्षति तथा पुनर्निर्माणका लागि भारतको सहयोगबारे छलफल गर्नुभएको थियो ।
वाग्लेले आफ्नो भारत भ्रमणका क्रममा भारतीय विदेशमन्त्री जयशंकरसँग पनि भेटवार्ता गरी लगानी, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तारका विषयमा छलफल गर्नुभएको छ । प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीलाई भने नेपाल–भारतबीच आर्थिक, ऊर्जा, पूर्वाधार तथा कूटनीतिक सहकार्यका विषयमा उच्चस्तरीय संवाद अघि बढाउने क्रमका रूपमा हेरिएको छ ।

