परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाँदै

काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल आज आइतबार अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै हुनुहुन्छ । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनुहुनेछ ।

उहाँले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्तासमेत गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्री वालेन्द्र शाह भने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार, असोज ६ गते अमेरिका प्रस्थान गर्नुहुनेछ । प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई असोज ८ गते अर्थात् सेप्टेम्बर २४ मा सम्बोधन गर्नुहुनेछ ।

प्रधानमन्त्रीको नेतृत्वमा जाने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईसहित नेपाल सरकारका वरिष्ठ अधिकारी सहभागी हुनेछन् । महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा १४ जना रहनेछन् ।

अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ । प्रधानमन्त्री शाह सेप्टेम्बर २६ मा स्वदेश फर्किने कार्यक्रम छ भने परराष्ट्रमन्त्री खनाल त्यसको तीन दिनपछि नेपाल फर्किनुहुनेछ ।

Facebook Comments Box