कृष्णभीरमा नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा

काठमाडौँ ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरोका कारण अवरुद्ध सडक सञ्चालनका लागि निर्माण भइरहेको नयाँ ट्र्याक अन्तिम चरणमा पुगेको छ । करिब ३०० मिटर लामो ट्र्याकमा अहिले ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको छ । निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालका अनुसार थप पहिरो नआए असोज १ गतेदेखि नियमित रूपमा यातायात सञ्चालन गर्ने तयारी छ ।

ट्र्याक निर्माणका क्रममा सात मिटर चौडाइको सडक र नालीसहित करिब साढे सात मिटरको संरचना तयार गरिएको छ । अहिले ग्रेडर, रोलर र एक्साभेटरसहित पाँच–छ वटा हेभी उपकरण तथा ४०–५० जना मजदुर परिचालन गरिएको छ ।

नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रका अनुसार आइतबार केही सवारीसाधनलाई परीक्षणका लागि मात्र नयाँ ट्र्याकबाट पार गराइएको थियो । उहाँले नयाँ ट्र्याक सर्वसाधारणका लागि खुला भइनसकेको भन्दै थप समस्या नआए असोज १ गतेदेखि नियमित यातायात सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो ।

Facebook Comments Box