भोटेकोशी बाढीबाट ऊर्जा क्षेत्रमा १६ अर्ब ३४ करोडको क्षति

काठमाडौँ । भोटेकोशी बाढीका कारण विद्युत् आयोजना र प्रसारण लाइनमा भएको क्षतिबाट ऊर्जा क्षेत्रमा १६ अर्ब ३४ करोड ६९ लाख रुपियाँ बराबरको क्षति हुने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदनअनुसार बाढीपहिरोका कारण वार्षिक दुई हजार ७३९ दशमलव ४८ गिगावाट घण्टा विद्युत् उत्पादनमा कमी आउनेछ ।

जलविद्युत् उत्पादनतर्फ मात्रै वार्षिक दुई हजार ५२० गिगावाट घण्टा उत्पादन गुम्दा १४ अर्ब ८२ करोड रुपियाँ क्षति हुने अनुमान छ । सौर्य ऊर्जातर्फ एक अर्ब २३ करोड ८४ लाख र ऊर्जा रोयल्टीतर्फ २८ करोड ८५ लाख रुपियाँ क्षति हुने जनाइएको छ । बाढीबाट रसुवागढी, माथिल्लो त्रिशूली थ्री ‘ए’, चिलिमे, त्रिशूली, देवीघाट, नुवाकोट सौर्य तथा लाङटाङखोलालगायत आयोजना प्रभावित भएका छन् । कतिपय आयोजना सुरक्षित रहे पनि प्रसारण लाइनमा क्षति पुगेका कारण विद्युत् उत्पादन तथा प्रसारण प्रभावित भएको छ ।

प्रतिवेदनअनुसार ऊर्जा क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन तीन खर्ब ९० अर्ब ६२ करोड ३० लाख रुपियाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान छ । त्यसमध्ये तत्कालका लागि एक अर्ब पाँच करोड र दीर्घकालीन पुनर्स्थापनाका लागि तीन खर्ब ८९ अर्ब ५७ करोड ३० लाख रुपियाँ आवश्यक पर्नेछ । नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रसारण लाइन पुनर्निर्माण करिब एक वर्षमा सम्भव भए पनि क्षतिग्रस्त जलविद्युत् आयोजना पुनर्निर्माण गर्न केही वर्ष लाग्न सक्ने भएकाले आगामी वर्षमा समेत विद्युत् उत्पादनमा क्षति व्यहोर्नुपर्ने अवस्था छ ।

Facebook Comments Box