आज चार संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । आज चार वटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ८ बजे बस्नेछ । बैठकमा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षति, उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयबाट भएका कामबारे छलफल हुनेछ । छलफलमा देखिएका समस्या तथा चुनौती र आगामी रणनीतिबारे पनि छलफल गरिनेछ । बैठकमा मन्त्री, मन्त्रालयका सचिवलगायतलाई बोलाइएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा क्यासिनो क्षेत्रका व्यवसायीसँग छलफल गर्ने कार्यसूची छ । यस्तै, विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा ‘संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ को प्रतिवेदनमाथि छलफल हुनेछ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा समितिको वार्षिक प्रतिवेदनका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

