बहुला खोलाको बाढीले भेरी करिडोर अवरुद्ध
सुर्खेत – जाजरकोटको नलगाड नगरपालिका–१ र २ को सीमामा पर्ने बहुला खोलामा आएको बाढीले भेरी करिडोर सडक अवरुद्ध भएको छ । बाढीले सडकका विभिन्न भाग कटान गर्नुका साथै नलगाड–१ तर्फका केही घुम्तीमा समेत क्षति पुर्याएको स्थानीयवासी मोतीराम हमालले जानकारी दिनुभयो । बाढी र पहिरोका कारण सडकमा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ ।
खहरे खोलामा आएको बाढीले सडक च्यातिएपछि सवारीसाधन सञ्चालन गर्न नसकिने अवस्था रहेको हमालले बताउनुभयो । जाजरकोट, रुकुम पश्चिम र डोल्पालाई जोड्ने प्रमुख सडकका रूपमा रहेको भेरी करिडोर अवरुद्ध भएपछि यात्रु तथा स्थानीयवासीलाई समस्या भएको छ ।
यसैबीच, सोमबारको अविरल वर्षापछि गएको पहिरोका कारण नलगाड नगरपालिका–२ डाँडागाउँको खर्कमा हजारी खत्रीका एक हल गोरु मरेका छन् । वर्षा र पहिरोका कारण आसपासका क्षेत्रमा समेत क्षति पुगेको स्थानीयवासी नारायणप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार रामकुमार जैसी र दामोदर खत्रीको घरसमेत पहिरोको जोखिममा परेको छ । गाउँ आसपासको जमिन विभिन्न स्थानमा चिराचिरा परेकाले थप क्षतिको जोखिम रहेको स्थानीयवासीले बताएका छन् ।

