तनहुँमा ट्रक दुर्घटनामा चालकको मृत्यु, जेनेरेटरमा आगलागी
तनहुँ – तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिका–६ का २६ वर्षीय अजय थिङ रहेका छन् । डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना ६ ख ४७ नम्बरको ट्रक आइतबार पृथ्वी राजमार्गमा अनियन्त्रित भई पल्टिँदा चालक थिङ गम्भीर घाइते भएका थिए ।
गम्भीर अवस्थामा उद्धार गरी प्रदेश अस्पताल दमौली लगिएकामा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । दुर्घटनामा ट्रकका सहचालक सामान्य घाइते भएका छन् । उनको घुँडामा चोट लागेको प्रहरीले जनाएको छ ।
यसैबीच, ऋषिङ गाउँपालिका–१ झापुटारस्थित तनहुँ हाइड्रोपावरको निर्माणस्थलमा रहेको ४०० केभीको जेनेरेटरमा आगलागी भएको छ । सिनो निर्माण कम्पनीको पार्किङस्थलमा राखिएको जेनेरेटरमा आइतबार दिउँसो करिब ४ बजे आगलागी भएको हो । आगलागीको सूचना प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक पीताम्बर अधिकारीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
स्थानीयवासीको सहयोगमा साँझ ४ः४५ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिनुभयो । आगलागीबाट जेनेरेटरमा क्षति पुगे पनि अन्य कुनै क्षति नभएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

